1

प्रचण्ड र उधारो चुरोट

काठमाडौंको जीवन उनका निम्ति कठिनाइले भरिपूर्ण थियो । पार्टीसँगसँगै घर पनि सम्हाल्नुपर्ने हुँदा आफ्नो संगठनको महासचिव भए तापनि उनको आर्थिक हैसियत भने चिन्ताजनक थियो । श्यामबहादुर भन्छन्, 'उनीहरू हाम्रो घरमा चार वर्षभन्दा बढी समय बसे । प्रतिमहिना घरभाडा पाँच सय ५० रुपैयाँ भए तापनि बेलाबखत त्यो तिर्न उनलाई मुस्किल पर्दथ्यो । तर, त्यो परिवार ज्यादै सरल थियो र हामीलाई कुनै पनि कुरामा कठिनाइ पुर्‍याउँदैनथ्यो । यो उचाइको क्रान्तिकारी नेता उनै हुन् भन्ने कुराको आभास हामीलाई कहिल्यै भएन । उनी त्यस्ता देखिँदैनथे । र, एकदमै सरल व्यक्ति थिए ।'

आर्थिक समस्याका कारण प्रचण्ड चुरोटसमेत उधारोमा किन्दथे, जसको हिसाब बढ्दो हुन्थ्यो । कोठामा खाटसमेत नभएकाले पूरै परिवार भुइँमै सुत्दथे । उनकी पत्नीलाई परिवार र त्यसमा पनि केटाकेटीलाई खाना जुटाउन धौधौ पर्दथ्यो ।
आर्थिक समस्याका कारण प्रचण्ड चुरोटसमेत उधारोमा किन्दथे, जसको हिसाब बढ्दो हुन्थ्यो । कोठामा खाटसमेत नभएकाले पूरै परिवार भुइँमै सुत्दथे । उनकी पत्नीलाई परिवार र त्यसमा पनि केटाकेटीलाई खाना जुटाउन धौधौ पर्दथ्यो । भान्सामा केही मात्र भाँडाकुँडा थिए । दाहाल परिवारले खाना पकाउने सबै काम एउटै मट्टीतेलको स्टोभमा गर्दथ्यो । घरधनी भन्छन्, 'उनका छोरा प्रकाश र मेरो भतिजो विनोद निकै मिल्दथे । मेरी भान्जी दिलशोभाको पनि उनका छोरीहरू ज्ञानु र गंगासँग राम्रो हेलमेल थियो । त्यसले गर्दा हाम्रा केटाकेटी उनीहरूको कोठासम्म पुग्दथे । उनीहरू भन्दथे, 'पूरै परिवारको खानपिन भन्नु नै भात र सागको झोल थियो ।'

उता चितवनमा समेत प्रचण्डका मातापिता बेघर भएकाले उनलाई आर्थिक रूपले सहयोग गर्न सक्ने अवस्थामा थिएनन् । मुक्तिरामले जेठा छोरालाई भेट्न आउँदा परिवारका निम्ति चामल ल्याउँदैनथे । किनभने, उनको घरखेत वर्षौंअघि नै बेचिइसकेको थियो ।
प्रचण्डका तीनै छोरीहरू बालकुमारीनजिकको सरकारी विद्यालयमा पढ्दथे र उनीहरूको जीवनशैली निकै सरल थियो । बाल्यकालमा प्रकाश आफ्ना बुबा आफ्ना साथीहरूका पिताभन्दा फरक रहेको सोच्दथे ।
'उहाँलाई बिहानीपख कहिल्यै पनि कार्यालय जाने हतारो हुँदैनथ्यो । बरु उहाँ घरमै बस्नुहुन्थ्यो र किताब पढ्दै वा साथीहरूसँग कुनै विषयमा छलफल गर्दै समय बिताउनुहुन्थ्यो ।'

श्यामबहादुरको घरमा भाडामा बसुन्जेल प्रचण्डका पाहुनाहरू बाक्लै हुन्थे र तीमध्ये धेरैजस्तो उनको पार्टी वा भ्रातृ संगठनहरूको क्रान्तिकारी साथीभाइहरू हुन्थे । श्यामबहादुर सम्झन्छन्, 'घरमा नियमित आवत-जावत गर्ने कृष्णबहादुर महरा, बाबुराम भट्टराई र दीनानाथ शर्माको सम्झना त अब पो आउँछ मलाई । त्यतिबेलाका पाहुनाहरू को हुन् भन्ने हामीलाई के थाहा हुनु ? पछि मात्र हामीले यसबारे थाहा पायौं ।'
वामपन्थी राजनीतिमा प्रवेश गरेका बाबुराम भट्टराई नेपालका मेधावी विद्यार्थीहरूमध्ये एक हुन् । गोरखाको बेलबास गाउँमा जन्मेका उनी जीवनमा कहिल्यै दोस्रो भएनन् । चण्डीगढ (भारत) बाट वास्तुशास्त्रमा स्नातक गरेका उनले जवाहरलाल नेहरू विश्वविद्यालयको स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरबाट सहरी योजनामा विद्यावारिधि गरेका हुन् ।

०४७ सालमा संविधान जारी भएलगत्तै नेकपा (चौथो महाधिवेशन), नेपाल सर्वहारा श्रमिक संगठन, नेकपा (मसाल) र नेकपा (मशाल) बीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) को जन्म भयो, जसका महासचिवमा प्रचण्ड नै रहे । लामो समयदेखि अनिश्चयबीच गुज्रँदै गरेका कट्टर वाम घटकहरूलाई यस एकीकरणले गति प्रदान गर्‍यो । श्यामबहादुरका भाइ लक्ष्मणबहादुर प्रचण्डको परिवार रहेकै घरमा बस्दथे । त्यसैले यी चार वाम घटकहरूबीच एकीकरणका सम्पूर्ण वार्ता कुम्भेश्वरको यसै घरमा भएको लक्ष्मणबहादुर बताउँछन् । उनी भन्छन्, 'घरमा निकै मानिसहरू आए । उनीहरू पुरानो दरीमा बसेर कुनै विषयमा छलफल गर्दै पूरै दिन कटाए । उनीहरूबीचका कुराकानीको विषय के थियो भन्ने भेद हामीलाई थिएन । उनी -प्रचण्ड) थुप्रै पुस्तक तथा पत्रपत्रिकाहरू पढ्ने गर्दथे । र, एउटै घरमा बस्ने भए तापनि कमै बोल्दथे । त्यसैले जे-जति कुराकानी हुन्थ्यो, उनकी पत्नीसँगै हुन्थ्यो ।'

त्यसैबेलातिर प्रचण्डले 'संविधानसभा : क्रान्तिकारी वा सुधारवादी ?' शीर्षकमा एक पुस्तक लेखे । यो पुस्तकले राजनीतिक वृत्तमा निकै रुचि पैदा गर्‍यो । उनले राजनीतिक रूपले कट्टर पत्रपत्रिकाहरूका निम्ति लेखहरू पनि लेखे ।
०४८ सालको पहिलो आमनिर्वाचनमा सबै राजनीतिक दलहरूले उम्मेदवार खडा गरेपछि उग्रपन्थी नेकपा (एकता केन्द्र) ले समेत आफ्नो राजनीतिक अंग संयुक्त जनमोर्चा (संजमो) लाई अघि सार्‍यो । चुनावमा मतदान उत्साहजनक देखियो । कुल एक करोड १० लाख मतदातामध्ये करिब ७० लाख (६५ प्रतिशत) ले आफ्नो मताधिकार प्रयोग गरे । विधायिकामा तेस्रो स्थान ओगट्दै संजमोले नौ सिट हासिल गर्‍यो । संजमोका विधायकहरूमध्ये कृष्णबहादुर महरा पनि थिए । दुई सय पाँच सदस्यीय सदनमा एक सय १० सिट ल्याउँदै नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्न पुग्यो भने ६९ सिटसहित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) ले दोस्रो ठूलो दलको हैसियत बनायो ।

निर्वाचन परिणामले राजावादी पार्टीहरूले जनताको समर्थन गुमाएको स्पष्ट संकेत गर्‍यो । ०४८ जेठ १५ मा गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा नेपाली कांग्रेसले सरकार गठन गर्‍यो । सदनको पहिलो बैठक असार ६ गते बस्यो ।
तर, जनताको आशा निराशामा बदलिन लामो समय लागेन । सत्तामा पुगेपछि नेताहरू भ्रष्टाचारमा लिप्त भए र सामन्तले झैं व्यवहार गर्न थाले । त्यसैले प्रचण्ड र उनको पार्टी नेकपा (एकता केन्द्र) तथाकथित प्रजातान्त्रिक सरकारको राज्य सञ्चालनबाट रुष्ट बने ।
प्रचण्ड त्यस अवधिभर उग्र राजनीतिक क्रियाकलापहरूमा निमग्न रहे तापनि उनी एक जिम्मेवार पिताको जिम्मेवारी निर्वाह गर्न कहिल्यै चुकेनन् । ०५० सालमा उनकी जेठी छोरी ज्ञानुको विवाह कुम्भेश्वरकै डेरा गरिएको घरको छतमा आयोजना गरिएको थियो । चितवन घर भएका अर्जुन केसी अर्थात् कमरेड सागर प्रचण्डका जेठा ज्याइँका निम्ति संगठनले जुराएको थियो । श्यामबहादुर सम्झन्छन्, 'त्यो एउटा सामान्य वैवाहिक कार्यक्रम थियो र निम्तालुहरू पनि कमै थिए । हामीहरूलाई त्यसमा बोलाइएको थिएन । त्यसैले यसलाई एक असामान्य विवाह भन्नुपर्ला ।'

विवाहपछि ज्ञानु पतिसँगै चितवनमा बस्न थालिन् । दुई छोरीकी आमा ज्ञानु अहिले भारतको पञ्जाव राज्यको जालन्धरमा बसोबास गर्छिन्, जहाँ उनका पति नेपाली जनअधिकार सुरक्षा समितिका केन्द्रीय सदस्य छन् । नेकपा (माओवादी) को भगिनी संस्थाका पूर्णकालीन सदस्यका रूपमा यो दम्पती कार्यरत छ ।
०५० सालको मध्यतिर प्रचण्डले चितवनका आफ्ना पुराना साथी रामबहादुर थापा (बादल) लाई एउटा दिगो सशस्त्र विद्रोहको सम्भाव्यता अध्ययन गर्न मध्यपश्चिम नेपालको रोल्पा र रुकुम पठाए । त्यहाँ प्रत्याक्रमण दस्तालाई प्रशिक्षित गर्न बादलले सैनिक अभ्यासहरू गराउनुपर्दथ्यो । पूर्वगोर्खा सैनिकका छोरा भएकाले उनी सैन्य रणनीतिबारे राम्रो ज्ञान राख्दथे ।

तर, ०५१ जेठ ८ गते सैद्धान्तिक मतभिन्नताका कारण संयुक्त जनमोर्चा संसद्मा दुई चिरामा विभाजित भयो । त्यसको दुई महिनापछि प्रधानमन्त्री कोइरालाले संसद्को विघटन गर्दै मध्यावधि चुनावको बाटो खोले ।
संजमोको विभाजनसँगै नेकपा (एकता केन्द्र) समेत मुलुकमा आमूल परिवर्तन ल्याउन हिंसा आवश्यक छ कि छैन भन्ने सवालमा निर्मल लामा र प्रचण्ड गुटमा विभाजित भयो । प्रचण्ड समूहको नेतृत्व बाबुराम भट्टराईले गरे । संजमोका दुवै समूह पार्टीको चुनाव चिह्नको दाबी गर्दै निर्वाचन आयोग पुगे तर नेकपा (एकता केन्द्र) को निर्मल लामा समूह आयोगद्वारा वैधानिक घोषित भयो । यसबाट क्रूद्ध बाबुराम भट्टराईले निर्वाचन आयोगमाथि जाइलाग्दै निर्वाचन बहिस्कारको आह्वान गरे ।

यसै राजनीतिक धक्काबीच प्रचण्डको परिवारमा पनि तनाव उब्जियो । उनकी आमा भवानी अर्बुद रोगका कारण अन्तिम अवस्थामा पुगेकी थिइन् । उनलाई परिवारका सदस्यहरूले काठमाडौंको वीर अस्पतालमा उपचारार्थ पुर्‍याए । र, दुई दाजुभाइ प्रचण्ड र गंगाराम आमाको रेखदेखमा महिना दिनसम्म सँगै रहे । प्रचण्डकी बहिनी अप्सरा भन्छिन्, 'आफ्नो व्यस्तताका बाबजुद उहाँ (प्रचण्ड) आमाको स्याहारसुसारका निम्ति दिनभर अस्पतालमै बस्नुहुन्थ्यो । आमालाई बचाउन उहाँका साथीहरूले समेत कैयौं पिन्ट रगत दिए ।'
भवानी दाहालले अन्तिम श्वास वीर अस्पतालमा फेरिन् । तर, प्रहरी प्रचण्डका पछाडि लागिपरेका कारण उनी अन्त्येष्टिमा सरिक हुन सकेनन् । आमाको अन्तिम संस्कार भाइ गंगारामले गरे ।

[नयाँ पत्रीकामा आज [सुक्रवार] प्रकाशित अनिर्वन रोयको पुस्तक Prachanda : A Unknown Revolutionary को एक अंश। ]