1

दुस्साहस मन पराउँछु !


सन् १९०३ मा पेरिसमा जन्मेकी एनिस निन फ्रेन्च अतियथार्थवादी शैलीका आभा-गार्दे उपन्यासहरूकी लेखिका हुन् । बढी त उनी फरक जीवनशैली र साहसिक डायरीहरूका कारण चर्चित रहिन् । उनी भन्छिन्, 'आफ्ना सपनाहरूलाई एउटा चंगाजस्तै खुल्ला आकाशमा हुत्याइदिनुहोस् । तपाईंलाई के थाहा, तिनले कुन नयाँ जीवन, नयाँ साथी, नयाँ प्रेम, नयाँ देश तपाईंको पोल्टामा ल्याउने हुन् ।'
हामी चन्द्रमामा जाँदै छौँ, त्यो त्यति टाढा छैन, मानिस आफैंभित्र झन् टाढा पुग्नुछ
उनको डायरीका केही अंश :-
म अभितप्त हुन चाहन्छु । खण्डित हुन परे पनि । म केवल परम् आनन्दका लागि मात्र बाँच्न चाहन्छु । अन्य केही कुराले मलाई छुँदैन । थोरै मात्रा, मधुरो माया- यी सबै कुराले मलाई चिसो अनुभूति हुन्छ । म छेलोखेलो गर्दै बाँच्न चाहन्छु, तप्त आकांक्षा...सेक्सुआलिटी, जसले थर्ममिटरलाई पड्काइदिओस् ! म न्युरोटिक छु, बिगि्रएकी छु, ध्वंसात्मक छु, आगो छु, खतरनाक लाभाजस्तै प्रज्वलनशील र अनियन्त्रित छु । म आफूलाई त्यो जंगली चितुवा सम्झन्छु, जो भर्खर खोरबाट फुत्केर उन्मुक्त भएको छ । - म केवल आगोमा विश्वास गर्छु । जीवनमा । आगोमा । म आगो भएकी हुँदा अरूलाई पनि आगो हुन प्रेरित गर्छु । मलाई लाग्छ, मान्छेको जीवन उसको साहस कति छ, त्यसको औसतमा खुम्चन्छ या फैलन्छ ।- लेखन वा कुनै पनि कलाले हाम्रो दृष्टिकोणलाई पुनर्नवीकरण गर्नुपर्छ । हामी जे कुरासँग घुलमिल भइसक्छौँ, त्यसलाई क्रमशः देख्न छाड्छौँ । लेखकले सुपरिचित दृश्यलाई हल्लाइदिन्छ, र त्यसपछि, झन्डै चामत्कारिक पाराले हामीले त्यसैमा नयाँ अर्थ देख्न थाल्छौँ । - र, त्यो दिन आयो, जतिखेर कोपिलाभित्र खुम्चिएर रहँदा खप्नुपर्ने जोखिम ढकमक्क फक्रनुको भन्दा बढी पीडादायक थियो । - कसैले पनि आफ्नो असली रूप सधैं, सबै ठाउँमा प्रकट गर्न सक्दैन । - जतिखेर मैले डायरी लेखिरहेकी थिएँ, मैले एकाएक एउटा आश्चर्यजनक 'इमेज'प्रति सचेत भएँ : सामाजिक, पारिवारिक, मैत्री सम्बन्धहरू एउटा आकाशगंगाजस्तै पो हुँदा रहेछन् । मित्रता मेरो जीवनका सहरहरूमा छरिएका छन् । पेरिस, न्युयोर्क, लसएन्जलस् । - हामी चन्द्रमामा जाँदै छौँ । त्यो त्यति टाढा छैन । मानिस आफैंभित्र झन् टाढा पुग्नुछ । - मैले आफूमा सबभन्दा मनपराउने कुरा मेरो हिम्मत, मेरो दुस्साहस हो । धेरै पीडा नखेपीकन अथवा आफैंलाई छिन्नभिन्न नबनाइकन..., सकेम्म आफूप्रति, आफ्ना वास्तविक भावनाप्रति इमानदार रहन मैले पहिल्याएका तरिका मलाई सबभन्दा पि्रय लाग्छन् । र, मैले सबभन्दा घृणा गर्ने कुरा हुन् : मेरो घमण्ड, प्रसिद्धिको, प्रशंसाको चाहना र मेरो सेन्टिमेन्टालिटी । म आफैंप्रति कठोर हुन चाहन्छु । हेर्नुस् न, एउटा जोक सुनाएपछि, वा रमाइलोका लागि कसैलाई उडाएपछि म धत्तेरी मैले के गरेँ भन्दै पश्चात्ताप नगरिरहन सक्दिनँ । - ओपेरा सुनिसकेपछिको मध्यरात्रि । संगीत सुनिरहँदा साँझदेखि नै मैले आफ्ना बारेमा, सौन्दर्यको सपनाका बारेमा, बौद्धिक प्राप्ति, प्रेम, कुनै सुन्दर नृत्यांगनाका हाउभाउ र एक दम वासनात्मक, सनसनीपूर्ण जिन्दगीका बारेमा सपना देखिरहेँ । मलाई ज्वरो चढिरहेको थियो, यस्तो लागिरहेथ्यो, म अनगिन्ती आकांक्षाको दन्दनाउँदो अग्नि-ज्वालाहरूमा छु । मैले आफू घरमा भएको, चिया पिउँदै गरेको, मञ्चमा उभिएको, विदेश भ्रमणमा गएको, लेखिरहेको, नाचिरहेको, दौडिरहेको र छिन्-छिन्मा सर्वांग रूपान्तरित भइरहेको देखिरहेकी थिएँ । म सबैतिर थिएँ, म सबै थोक थिएँ, सबै व्यक्ति थिएँ । मेरो जीवन कुनै दायरामा सीमित थिएन, यसको वरिपरि कुनै पर्खाल थिएन, यसको कुनै अन्त थिएन । मैले जति जति सपना देख्दै गएँ, त्यति-त्यति मेरो ज्वरो बढ्दै गयो र त्यतिन्जेल ज्वरो चढिरह्यो जतिखेर एक्कासि मैले अनुभूति गरेँ, मैले आफैंले आफैंलाई फुक्र्याइरहेकी रहिछु । - मानिसको स्वभाव केही कुराले परिवर्तन गर्न सक्दैन । तर, उसले आफैंले चाह्यो भने स्वयंलाई मनोवैज्ञानिक रूपले रूपान्तरित गर्न सक्छ ।- आफ्नै जीवनमाथि प्रयोगहरू गर्न तपाईंलाई पूर्ण अधिकार छ । तपाईंले गल्ती गर्नुहुनेछ । तर, तिनीहरू पनि सही हुन् !प्रस्तुति : नेत्र
नयाँ पत्रीकावाट